जनकपुरधाम, २९ बैशाख । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतोले मौन अवधिमा घरघरमै पुगेर आफ्नो पार्टीका उम्मेदवारलाई मत मागेकी छन् ।

निर्वाचनको पूर्वसंध्यामा आचारसंहिताको उल्लंघन गर्दै महतोले जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियामा वडाध्यक्षका उम्मेदवारको लागि भोट मागेकी हुन् ।

नेतृ महतोले आज बिहान नेकपा एमालेको तर्फबाट सोही वडाका वडाध्यक्ष पदका उम्मेदवार ओपेन्द्र सहनीसँगै टोलटोल पुगेर मत मागेकी स्थानीयले बताएका छन् ।

निर्वाचनको अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन एवम् सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन कार्यशाला, गोष्ठी गर्न पाइँदैन ।

त्यस्तै, मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्ने वा निर्वाचन प्रचार–प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर गर्न/गराउन नहुनेलगायतका व्यवस्था छन् । तर, राजनीति दलकै प्रतिनिधिबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ ।

यसपालिको स्थानीय तह निर्वाचनको मतदान भोलि हुँदैछ ।