काठमाडौं, २६ बैशाख । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज घरेलु टोली नेपालले हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

यो जितसँगै घरेलु टोलीले तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पार्यो । २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ८४ रन बनाएका कुशलले ६१ बलमा सात चौका र चार छक्का प्रहार गरे ।

६० रनमा अविजित रहेका दीपेन्द्रले ४३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । विनोद भण्डारीले अविजित २८ रन जोडे । पाँचौँ विकेटका लागि दीपेन्द्र र विनोद भण्डारीले अविजित ८४ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो ।

पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । आसिफ २९ रन बनाएर आउट भए ।

जिम्बावेका लागि ब्रेन्डन माभुटाले तीन तथा ब्राड इभन्सले एक विकेट लिए ।

यसअघि गएरातिको वर्षाका कारण मैदानमा पानी जमेकाले टसमा ढिलाइ हुँदा ३३ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

जिम्बावेका लागि टाडिवान्से मरुमनीले अर्धशतकीय पारी खेले । ३१ बलको सामना गरेका उनले सात चौका र दुई छक्कासहित ५० रन बनाए । कुड्जाइ मउन्जेले ३९ र रोय केइयाले ३६ रन जोडे ।

नेपालका लागि पहिलोपटक सिनियर टोलीबाट खेलेका किशोर महतोले पाँच, सोमपाल कामीले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।

सिरिजको पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी हुँदा दोस्रो खेल नेपालले नौ विकेटले आफ्नो पक्षमा परेको थियो ।