स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशको स्वागत

काठमाडौं, २६ बैशाख । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले सो विधेयकको स्वागत गरेको हो ।
सरकारले संघसँगको सम्झौताबमोजिम नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको हो ।
अध्यादेशले स्वास्थ्य संस्थामा आगजनी गर्ने,स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्याउने तथा स्वास्थ्यकमी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याएमा तत्काल कारबाही गर्ने व्यवस्था थप गरेको छ ।
उक्त व्यवस्थाले चिकित्सक तथा स्वस्थ्यकर्मी वा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्य पूर्णरुपमा निषेध हुने संघले विश्वास लिएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. लोकचन कार्कीले लामो समयदेखि सरकारलाई स्वास्थ्यकर्मीको जीवन सुरक्षाको लागि माग गरिएको कानुन ढिलै भए पनि ल्याएको बताए ।
योभन्दा अघि पनि यस्तो अध्यादेश आएको तर संघले माग गरेको जस्तो अध्यादेश नआएको भन्दै उनले अहिले आएको अध्यादेशले भने संघको संवेदनशील मागलाई बुझेर अध्यादेश आएकोमा सरकारलाई धन्यावाद दिए । अध्यक्ष कार्कीले सरकारले जारी गरेको अध्यादेशले स्वास्थ्यकर्मीले निर्धक्क भएर काम गर्ने मनोबल बढाएको बताए ।
अब सरकारले अध्यादेशलाई ६ महिनासम्ममा संसदबाट ऐनको रुपमा पारित गर्ने विश्वास रहेको उनले बताए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


