जनकपुरधाम निर्वाचन : पैसाले हैवीवेटहरू प्रदर्शनमा नीकै अगाडि, समर्थन भने न्यून !

जनकपुरधाम, २६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनको ४ दिन मात्रै बाँकी छ । स्थानीय तह निर्वाचन केन्द्रित चुनावी प्रचार प्रसारको १ दिन मात्रै बाँकी रहेको समयमा जनकपुरधाम उपमहानगरपालिकाका मतदाताहरु उपयुक्त उम्मेदवारको खोजीमा लागेका छन् ।
उम्मेदवार र तिनका प्रचारकहरुले दिनहुँ भ्रमको खेती गर्न थालेपछि र आचारसंहिताको उल्लंघन गर्नेहरुका अगाडि प्रशासन पूरै निरीह भएकाले पैसाको बोलबाला बढेको छ ।
पैसाले हैवीवेट उम्मेदवारहरू प्रदर्शनमा नीकै अगाडि देखिएपनि समर्थन भने पाइरहेका छैनन् । हैवीवेट उम्मेदवारहरु पैसाको बलमा भीड जम्मा गरिरहँदा बुद्धिजीवी वर्गका लागि भने शालिन रुपमा प्रचार प्रसारमा लागेका उम्मेदवारहरु रोजाइमा पर्न सक्ने सम्भावना छ ।
जसपाका नेताहरूले आन्तरिक रुपमा यादव र मुस्लिम समुदायमा निवर्तमान मेयर लालकिशोरलाई मतदान गर्न दबाब दिएपछि त्यस विरुद्ध मतदाताहरूले विद्रोह र आक्रोश व्यक्त गर्न थालेका छन् ।
कनकपट्टीका एक मतदाताले भने, ‘लालकिशोरले गत निर्वाचनमा हामीलाई भ्रममा राखेका थिए । हामीले उनलाई देखिसकेका छौं । अब कसैले जनताले मन नपराएको उम्मेदवारलाई मत हाल भनेर भन्यो भने उनले आफ्नो समर्थन पनि गुमाउँछन् । हामीले उनलाई मत दिएका छौं । आफूलाई बन्धकी राखेका छैनौं ।’
यता, नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि पनि नीकै अप्ठ्यारोमा परेका छन् । स्वतन्त्र उम्मेदवार मनोज साह र उनका प्रचारकहरू उनलाई निधिको उम्मेदवार भनी प्रचार गरिरहेका छन् तर आम मतदाता यसको प्रभावमा छैनन् । मनोज साहको दक्षिणी ग्रामीण क्षेत्रमा केही प्रभाव रहेपनि शहरमा भने उनको खासै प्रभाव नदेखिएको आंकलन गरिएको छ ।
विमलेन्द्र निधि खुला रुपमा मनोज साहलाई उम्मेदवार घोषित गर्न सक्दैनन् । उनी जीते मेरो, हारे स्वतन्त्र भन्ने दाउमा रहेको एक जना काँग्रेसी कार्यकर्ताले नाम नबताउने शर्तमा भने ।
उनले बिमलेन्द्रले खुला रुपमा मनोज साहको पक्ष लिए पार्टीबाट निष्काशित हुन सक्नेसम्म दावी गरे । अहिले काँग्रेसभित्र देखा परिरहेको अन्तरकलहले यो सम्भव पनि हुन सक्ने देखिन्छ । गठबन्धनको राजनीतिले काँग्रेसलाई भित्रभित्रै टुक्रा–टुक्रा पारिदिएको एक बुजुर्गले बताए ।
यता भोटका व्यापार गर्ने स्वघोषित ठेकेदारहरू सक्रिय हुन थालेका छन् । उनीहरू आफ्नो बजार भाउ बढाउन व्यस्त छन् । यसपालि खरीदारहरू दमदार र पैसावालहरु मध्ये भएका र खरीद बिक्रीको निमित्त पनि प्रतिस्पर्धा गरिरहेकाले खरीद बिक्रीमा पर्ने भोट विभाजित हुने अवस्था छ ।
स्थानीय निर्वाचनमा आचारसंहिताको खुला उल्लंघनले नगरवासीहरू कष्टमा परेका छन् । पछिल्लो चुनावहरूको तुलनामा यसपालि आचारसंहिताको उल्लंघन धेरै बढेको छ । नगरभित्र कुनै पर्खालको भित्ता बाँकी छैनन् । सबैलाई सफाइ र रंगरोगनको चिन्ताले पिरोलेको छ । डीजेको आवाजले गर्दा सामान्य नागरिक बेचैन छन् ।
‘यीनीहरूले गर्ने केही होइनन्, हामीलाई बिनासित्ती विरामी बनाइरहेको भन्दै दिक्क मानिरहेका छन् । प्रशासन गिरेको मनस्थितिमा रहेको देखिन्छ,‘ स्थानीय एक बुद्धिजिविले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


