धनुषाको सबैलामा राप्रपाका उम्मेदवारमाथि आक्रमण

जनकपुरधाम, २६ बैशाख । स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका छन् ।
मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनीसहित परिवारका ७ जना सदस्यमाथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध मिलाउन राप्रपाले माग गरेको छ ।
यसैगरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ मा राप्रपाका वडाध्यक्ष पदका उम्मेदवार लिलिबिर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने लगायतका गतिविधि भएको भन्दै आपत्ति जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


