पूर्वी युक्रेनको एक स्कूलमा बम खस्दा ६० जनाको मृत्यु भएको आशंका

एजेन्सी, २५ बैशाख । पूर्वी युक्रेनको एक स्कूलमा बम खस्दा ६० जनाको मृत्यु भएको आशंका जताइएको छ ।
युक्रेनमाथि रुसले हमला गरेको दुई महिनाभन्दा बढी भइसकेको छ र हमला लगातार जारी छ । युक्रेन पनि लगातार रुसको हमलाको जवाफ दिइरहेको छ ।
लुहान्स्क प्रान्तका गभर्नर सेरहिय हैदईले दुईजनाको मृत्युको पुष्टि गरेका छन् र यो हमलामा कम्तीमा ६० जनाको मृत्यु भएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । यो स्कूल लुहान्स्कको बिलोहोरिव्कामा अवस्थित छ ।
स्कूलको यो भवनमा करिब ९० जनाले शरण लिएका थिए । हमलापछि ३० जनाको उद्दार गरिएको छ । यीमध्ये सातजना गम्भीर रुपमा घाइते छन् । गभर्नरका अनुसार रुसले शनिबार स्कूलको भवनमा बम खसालेको थियो ।
यद्यपि, हैदईको आरोपमाथि बीबीसीले पुष्टि गर्न सक्दैन र यसबारे रुसको तर्फबाट केही पनि बयान सार्वजनिक भएको छैन । युक्रेनको एक पत्रिकाले यो स्थान पछिल्लो एक हप्तादेखि युद्धको हटस्पट बनेको दाबी गरेको छ ।
बम खस्दा स्कूलको भवन पूर्ण रुपमा ध्वस्त भएको र त्यसमा आगलागी भएको दाबी गरिएको छ । आगो निभाउन दमकललाई तीन घण्टा बढी समय लाग्यो । गभर्नरका अनुसार लगभग पूरा गाउँले स्कूलको बेसमेन्टमा शरण लिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


