काठमाडौं, २५ बैशाख । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकबीच भएको विवादको छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति गठन गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गत १३ वैशाखमा खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण बन्द प्रशिक्षण छाडेका थिए । १६ गते पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षण छाडेका खेलाडीले स्पष्टिकरण दिएका थिए ।

१८ वैशाखमा प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र काट्दै खेलाडीले बन्द प्रशिक्षण आफूलाई थाहा नदिई छाडेको र आगामी प्रशिक्षणमा सामेल नगराउने बताएका थिए । उनले पत्र काट्दै खेलाडीलाई कारबाही नगर्न एन्फासमक्ष आग्रहसमेत गरेका थिए ।

१९ वैशाखमा १० खेलाडीले हस्ताक्षर गर्दै व्यवस्थापक र प्रशिक्षकको कारण बन्द प्रशिक्षण छाड्नुपरेको र सत्यतथ्य छानबिन गर्न एन्फासमक्ष आग्रह गरेका थिए ।

यता, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले पत्र काट्दै कार्यसमित बैठक बोलाएपछि आइतबार बैठक बसेको थियो ।

बैठकले पूर्वखेलाडी तथा आर्मीका अवकाशप्राप्त उपरथि भिक्टोर राणालाई छानबिन समितिको संयोजक बनाएको हो । यस्तै, पूर्वराष्ट्रिय खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई छानबिन समितिको जिम्मा दिएको हो ।

समितिले सात दिनभित्र सत्यतथ्य पत्ता लगाई एन्फामा प्रतिवेदन बुझाउनुपर्नेछ ।