सर्लाहीमा माओवादीका उम्मेदवारलाई विपक्षीले विष हालेको लड्डु खुवाएको आरोप, सर्लाही तनावग्रस्त

सर्लाही, २५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू लड्डु खाएपछि बिरामी परेका छन् ।
आइतबार दिउँसो करिब १ बजेको समयमा लड्डु खाएका वडाध्यक्ष पदका उम्मेदवार शेख इस्तिहार, वडा सदस्य पदका उम्मेदवार उमा साह र पूर्णिमा कार्की बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
वडाध्यक्षका उम्मेदवार शेषलगायतलाई स्थानीय अस्पतालमा उपचार गराउँदा पोइजनिङ देखिएको सर्लाहीका एसपी विष्णु केसीले जानकारी दिए ।
अन्य दुईजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
‘आज दिउँसो मिठाइ खाएलगत्तै वडाध्यक्षका एक र दुई वडा सदस्यका उम्मेदवार बिरामी परेका छन्,’ सर्लाही प्रहरी स्रोतले भन्यो, ‘परीक्षण गर्दा उहाँहरूले खाएको मिठाइमा विष देखिएको चिकित्सकले बताउनुभएको छ ।’
घटनाबारे अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
यता, घटनाका कारण सर्लाही तनावग्रस्त भएको छ । घरदैलो अभियानका क्रममा एक विपक्षी पार्टी नेताले योजनावद्ध रुपमा विष हालेको लड्डु खुवाएर हत्या गर्न खोजेको आरोप लगाउँदै माओवादी केन्द्र आन्दोलिन भएको हो । माओवादी केन्द्रका कार्यकर्ताले सडकमा टायर बालेर आन्दोलन गरेका छन् ।
विपक्षी पार्टीले षड्यन्त्र गरेर सो लड्डुमा विष मिसाइ खुवाएर हत्या गर्न खोजेको माओवादी केन्द्रको आरोप छ ।
माओवादी केन्द्रका नगर सचिव विवेक मैनालीले योजनाबद्ध तरिकाले विष खुवाएर हत्या गर्न खोजेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


