आचारसंहिताको धज्जी उडाउँदै नगरप्रमुखका उम्मेदवार लालकिशोरले गरे ‘रोड शो’

जनकपुरधाम, २४ बैशाख । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७८’ जारी गरेपनि यसको पालना भने कुनैपनि उम्मेदवारले गरिरहेका छैनन् ।
पाँच दलीय सत्तारुढ गठबन्धनको तर्फबाट जनकपुधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार लालकिशोर साहले उम्मेदवारी दर्ता गरेकै दिनदेखि विदेशी नम्बर प्लेटको चारपाङ्ग्रे सवारी साधनको प्रयोग गरिरहेका छन् ।
निवर्तमान नगरप्रमुख समेत रहेका साहले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै भारतीय नम्बर प्लेटको सवारी साधन निर्वाध रुपले प्रयोग गरिरहेको देखिएको हो ।
शनिबार पाँच दलीय गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा सहभागी हुनु अघि उनी नगरभित्र रोड शो गरेका थिए । रोड शोमा नगरप्रमुख पदका उम्मेदवार साहले भारतको उत्तर प्रदेश राज्यको यूपी १४ इएक्स ७०३२ नम्बरको गाडीमा हात हल्लाउँदै नगरबासीलाई अभिनन्दन गरेको देखिएको थियो ।
निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता २०७८ को बुँदा नम्बर १३ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत निर्वाचन प्रचारप्रसारको काम अथवा निर्वाचन सम्बन्धी अन्य गतिविधिमा उम्मेदवार अथवा राजनीतिक दललाई विदेशी नम्बर प्लेटको सवारी साधनको प्रयोग गर्न अनुमति नदिइएको स्पष्ट उल्लेख छ ।
तर, सो आचारसंहिताको कुनै ख्याल नै नगरि उम्मेदवार साहले नगरभित्र रोड शोको आयोजना गर्नु सानाका लागि ऐन र ठूलाका लागि चैन सरह रहेको स्थानीय प्रकाश मिश्रले बताए ।

उनले गठबन्धनका उम्मेदवार साहले आचारसंहिताको पालना नगर्दा अन्य उम्मेदवारले पनि यसको पालना गर्नुपर्ने आवश्यकता नै नरहेको जिकिरसमेत गरे ।
साहले दैनिक रुपमा आयोजना गरिरहेको चुनावी कार्यक्रममा करिव आधा दर्जनको संख्यमा भारतीय नम्बर प्लेटकै गाडीहरुको प्रयोग गरिरहेका छन् ।
साहबाहेक जनकपुरधाममा अन्य राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले पनि निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
आचारसंहिता विपरीतका गतिविधि यहाँका प्रायः सबै उम्मेदवारले गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


