स्वास्थ्य क्षेत्रमा साताको दुई दिन विदा दिनु उचित नहुने विज्ञहरूको भनाइ

काठमाडौं, २४ बैशाख । स्वास्थ्य क्षेत्रमा साताको दुई दिन विदा दिनु उचित नहुने विज्ञहरूले बताएका छन् ।
आगामी जेठदेखि साताको दुई दिन शनिवार र आइतवार बिदा दिने सरकारले निर्णय गरे पनि त्यो स्वास्थ्य संस्थामा लागू हुँदा सेवाग्राहीलाई समस्या हुने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दुई दिन विदा दिने व्यवस्था लागू गर्दा त्यसले स्वास्थ्य संस्थामा काम गर्नेको मनोबल कमजोर बनाउने र सेवाग्राहीलाई पनि समस्या हुने पूर्व स्वास्थ्य सचिव डा.प्रविण मिश्रको भनाइ छ ।
स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूले विदाका दिन पनि आलोपाले काम गरिरहेको र सार्वजनिक विदा नभनि काम गरिहेकालाई २ दिन विदा दिँदा त्यसले विदा बस्नुपर्ने मानसिकताको विकास हुने उनको धारणा छ ।
डा.मिश्र भन्छन्, ‘अन्य सेवा जस्तो र क्षेत्र जस्तो स्वास्थ्य क्षेत्र नभएकाले दुई दिनको विदा सम्भव हुँदैन । स्वास्थ्य संस्थामा विदा भन्ने कहिल्यै नहुने भएकाले त्यसलाई उचित तरिकाले सरकारले सम्बोधन गर्नुपर्छ ।’
स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले काम गरे वापत उनीहरूको एक दिन बराबरको तलबको व्यवस्था गरेर सरकारले उनीहरूको श्रमको सम्मान गर्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णय अनुसार दुई दिन सार्वजनिक बिदा दिने तयारी गरिरहेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले हालसम्म विदा नदिने विषयमा कुनै थप निर्णय नभएको हुँदा हाल २ दिन नै स्वास्थ्य क्षेत्रमा विदा लागू हुने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


