चितवन, २४ बैशाख । पछिल्ला दिनमा चितवनमा बर्डफ्लू व्यापक बन्दै गएको छ ।

चितवनको एक पोल्ट्री फार्ममा ठूलो संख्यामा बर्डफ्लू देखिएको छ । चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्मका रहेका १ लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको हो ।

फार्म सञ्चालक सुमा अर्यालका अनुसार केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा संक्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो ।

काठमाडौंमा पठाइएको नमुनामा यति ठूलो संख्यामा बर्डफ्लू देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुन लगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालले बीस वर्षअघिदेखि उच्चतम प्रविधि अपनाएर कुखुरा पाल्दै आउनु भएको थियो । यस व्यवसायमा ७० करोड भन्दा बढी लगानी भएको उनको भनाइ छ ।

कुखुरा तथा अण्डा नष्ट गर्दा २५ करोड बराबरको क्षति हुने अर्यालले जानकारी दिए ।

जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभर फैलिएको छ ।