गठबन्धनको विरुद्धमा बोल्नेलाई कारबाही गर्ने सभापति देउवाको चेतावनी

जनकपुरधाम, २४ बैशाख । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा बोल्नेहरुमाथि कारवाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार सत्तारुढ गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनको बिरुद्धमा कांग्रेस भित्रै आवाज उठिरहेको समयमा यसको विरुद्धमा बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
‘पार्टी बाहिर गएर उम्मेदवारी दिएकाहरुका लागि पार्टीमा कुनै स्थान छैन, देउवाले भने, ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन बिरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य छैन ।’
देउवाले नागरिकता समस्या समाधान गर्न सरकार गम्भिर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरहने बताए ।
उनले प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृतिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेको जिकिर गरे ।
देशमा धेरै लडाईंपछि प्राप्त संघियतालाई समाप्त पार्ने षडयन्त्र भइरहेकोसमेत उनले बताए । उनले नेकपा एमालेलाई मत नदिन पनि मतदातालाई आग्रह गरेका छन् ।
उनले प्रश्न गर्दै भने, ‘संसद चल्न नदिई भंग गरेको गर्यै गर्ने ओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ? त्यसैले जनताले पाँच वर्षका लागि चुनेको संसद भंग गरिदिने पार्टीलाई भोट नदिऔं ।’
देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो अत्याचार पछि पाँच दलीय गठबन्धन बनेको दाबी गरे ।
उनले भने, ‘वर्तमान संविधान संविधानसभाले बनाएको संविधान हो । कुनै पार्टीले बनाएको संविधान होइन् । एमाले अध्यक्ष ओलीमा विपक्षीले गरेको विरोध सहन गर्ने शक्ति नै छैन् ।’
गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् । देउवाले गठबन्धनलाई सफल बनाइने बताए ।
कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे ।
गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


