काठमाडौं, २४ बैशाख । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसयीय सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले जित हात पारेको छ ।

नेपालले आज सम्पन्न खेलमा ९ विकेटको शानदार जित हात पारेको हो । नेपालको यो जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्याे ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रन जोडे । ३८ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे ।

आसिफ शेख ३१ बलमा ६ चौकासहित ३४ र विनोद भण्डारी तीन बलमा एक चौकासहित चार रनमा अविजित रहे ।

पहिलो विकेटका लागि शेख र धमलाले ७९ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

जिम्बावेका लागि एक मात्र विकेट ब्रेन्डन माभुताले लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’ ले ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

जिम्बावेको लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रनको योगदान दिए । ४२ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

ब्राड इभन्सले अविजित २० र केफस जुवाओले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जिम्बावेलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले तीन/तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।