एजेन्सी, २४ बैशाख । क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढि घाइते भएका छन् ।

मृत्यु हुनेमा गर्भवती र एक जना बच्चा समेत रहेका बीबीसीले जनाएको छ । पुरानो हवानामा रहेको साराटोगा नामक पाँचतारे होटलमा ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान गरिएको छ ।

विस्फोटका कारण बाहिरी पर्खालको धेरै भाग समेत भत्किएको छ ।

भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विस्फोट अति नै भयानक भएकोले भूकम्प गएजस्तै अनुभूति भएको बताएकी छिन् ।

विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । होटलको पछाडि विद्यालयसमेत रहेको तर विस्फोटबाट विद्यालयमा भने कुनै क्षति नपुगेको बीबीसीमा उल्लेख छ ।