जनकपुरधाम, २४ बैशाख । नेपाली कांग्रेसले देशका प्रमुख १० शहरमा गत बुधबारदेखि नै चुनावी सभा आयोजना गर्न सुरु गरेको छ ।

सोही अनुरुप आज जनकपुरधाममा चुनावी सभाको आयोजना हुन लागेको हो ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा सभा आयोजना गरिएको थियो भने २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा चुनावी सभा सम्पन्न भइसकेको छ ।

आज बुटवल, तनहुँको दमौली र जनकपुरधाममा कांग्रेसले चुनावी सभाको आयोजना गर्न लागेको छ ।

आज दिउँसो स्थानीय तिरहुतिया गाछीमा आयोजना हुने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, सह महामन्त्रीद्वय भिष्मराज आंगदम्बे र महेन्द्र यादवलगायतका नेताहरुले सम्बोधन गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवासहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी सभामा भाग लिनेछन् ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा जसपाका मेयर पदका उम्मेदवार लालकिशोर साहलाई जिताउन छाता छापमा मत माग्ने छन् भने जसपा अध्यक्ष उपेन्द्र यादवले काँग्रेसबाट उपमेयर पदका उम्मदेवार किशोरी साहलाई जिताउन गाछी छापमा मतदान गर्न आग्रह गर्ने छन् ।

जनकपुरधाम उपमहानगरमा सत्ता गठबन्धन अन्तर्गत मेयर जसपाको भागमा परेको छ भने उपमेयर काँग्रेसको भागमा परेको हो ।

कांग्रेसले २५ वैशाखमा पोखरा र तुलसीपुरमा, २६ वैशाखमा धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना गर्ने भएको छ ।