म्याक्रोनको मध्यमार्गी पार्टीद्वारा नाम बदलेर ‘रेनसाँ’ बनाउने घोषणा

एजेन्सी, २३ बैशाख । फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोनको मध्यमार्गी पार्टी ‘ला रिपब्लिक एन मार्च’ ले आफ्नो नाम बदलेर ‘रेनसाँ’ बनाउने घोषणा गरेको छ ।
राष्ट्रपति पुनः निर्वाचित भएपछि म्याक्रोन अहिले संसदीय चुनावमा केन्द्रीत भएका छन् । यसै चुनावलाई लक्षित गरि पार्टीको नाम बदल्न लागिएको हो ।
फ्रान्समा आगामी जुन महिनामा संसदीय निर्वाचन हुँदैछ । संसदीय निर्वाचनमा म्याक्रोनलाई वामपन्थी नेता ज्याँ–लु मेलेन्चोनको नेतृत्वमा गठित वामपन्थी दलहरूको गठबन्धनले सबैभन्दा बलियो प्रतिस्पर्धा पेस गरेको छ ।
त्यसबाहेक पछिल्लो राष्ट्रपतीय चुनावको दोस्रो चरणमा म्याक्रोनकी प्रतिद्वन्द्वी रहेकी मरिन ल पेनको उग्र दक्षिणपन्थी पार्टी नेशनल र्यालीले पनि संसदमा सिट बढाउने लक्ष्य लिएको छ । म्याक्रोनको पार्टीको बदलिएको नाम ‘रेनसाँ’ को अर्थ पुनर्जागरण हुन्छ । पार्टीकी महासचिव स्टेनिस्लास गुएरिनीले यसको अर्थ ‘अज्ञानताका विरुद्ध सधैं ज्ञानलाई रोज्ने’ भन्ने पनि हुने भनेकी छन् ।
म्याक्रोनको समूहले विगतमा सन् २०१९ को युरोपेली चुनावमा पनि ‘रेनसाँ’ नाम प्रयोग गरेका थिए । राजनीतिक पार्टीहरु अस्तित्वमा रहने हो भने आफूलाई नवीकरण गरिरहनुपर्छ,’ गुएरिनीले भनिन् । गुएरिनीको संकेत लामो समय फ्रेन्च राजनीतिको अधिपत्यमा रहेका तर अहिले नगन्य बन्दै गएका सोसलिष्ट पार्टी र लेस रिपब्लिकन पार्टीतर्फ थियो ।
दोस्रो विश्वयुद्धदेखि म्याक्रोनको आगमन अघिसम्म पालै पालोजसरी शासन गरेका यी दुईको उम्मेदवारको पछिल्लो निर्वाचनमा मत ७ प्रतिशत मात्र थियो । नाम परिवर्तनमा म्याक्रोनको पार्टीले स्थानीय निकायमा गुमाउँदै गएकाले पकड पनि जिम्मेवार रहेको बताइन्छ ।
सन् २०१६ मा तत्कालीन सोसलिष्ट पार्टीको अर्थमन्त्री रहँदा म्याक्रोनले ‘एन मार्च’ नामक राजनीतिक आन्दोलन सुरु गरेका थिए । सोही आन्दोलनको बलमा उनी सन् २०१७ को राष्ट्रपति चुनाव जित्न सफल भएका थिए । सन् २०१७ को संसदीय चुनावमा म्याक्रोनले ‘एन मार्च’ आन्दोलनलाई ‘ला रिपब्लिक इन मार्च’ नामको राजनीतिक दलमा बदले, जसले संसदमा बहुमत हासिल गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


