सुर्खेत, २३ बैशाख । कर्णालीको प्रदेश लोकसेवा आयोगको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेलाई दुई वर्षसम्म परीक्षामा उम्मेदवार हुन रोक लगाउँदै कारबाही गरिएको छ ।

आयोगले दैलेखको आठबिस नगरपालिका–९ स्थायी ठेगाना भएका लोकराज सिजापतिलाई परीक्षा समयमा प्रश्नपत्र सार्वजनिक गरेको पुष्टि गर्दै आगामी दुई वर्षसम्म कुनै पनि परीक्षाको उम्मेदवार हुनबाट रोक लगाएको हो ।

आयोगद्वारा १७ वैशाखमा वीरेन्द्रनगरमा प्रशासन सेवा, सहायकस्तर पाँचौ तहको एकीकृत वस्तुगत लिखित परीक्षा सञ्चालनका क्रममा परीक्षामा सहभागी सिजापतिले मोबाइलमार्फत प्रश्नपत्रको फोटो खिच्दै तत्काल सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ग) बमोजिम परीक्षार्थी सिजापतिलाई दुई वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।