जनकपुरधाममा काँग्रेस–कम्यूनिस्ट सत्ता गठबन्धन भाँडिने संकेत !

जनकपुरधाम, २३ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेस–कम्यूनिस्ट सत्ता गठबन्धन भाँडिने संकेत देखिएको छ ।
शनिबार जनकपुरधाममा गठबन्धनको चुनावी सभा आयोजना हुने पूर्वसन्ध्यामा स्वतन्त्र उम्मेदवार मनोज साहको प्रचारटोली अगाडि–अगाडि र त्यसको लगत्तै काँग्रेसका उपप्रमुखका उम्मेदवार किशोरी साहसहितको टोली बजार घुमेको थियो ।
यसबाट उपप्रमुखका उम्मेदवार किशोरी साहले नगरप्रमुखका उम्मेदवार मनोज साहको निमित्त भोट मागिरहेको घोषणा गर्दै मनोज साह काँग्रेसको उम्मेदवार भएको भ्रम छर्ने कोशिश भइरहेको काँग्रेसीहरू बताउँछन् ।
काँग्रेसी नेताहरुका अनुसार वास्तविकता सो नरहेको र हामीले यसको प्रतिकार गर्दै जनतामा स्पष्ट सन्देश दिने प्रतिक्रिया दिए । एक कांग्रेसी नेताले नाम उल्लेख नगर्ने सर्तमा गठबन्धनका प्रमुख पदका उम्मेदवार लालकिशोर साह र काँग्रेसका उपप्रमूख पदका उम्मेदवार किशोरी साह दुबै धरापमा पर्ने निश्चित रहेको बताए ।
काँग्रेस–कम्यूनिस्ट सत्ता गठबन्धनमा देखिएको यस फूटले निरन्तर बौद्धिक मतदाता र ग्रामीण भेगमा समेत आन्दोलनकारी र महिला उम्मेदवारको रुपमा चर्चित हुँदै गइरहेकी बिभा ठाकुर तथा केही हदसम्म मनोज साहलाई लाभ हुने देखिन्छ । प्रचारप्रसारमा संसाधनको प्रयाप्त प्रयोग गर्ने बलराम महतो पनि चर्चामा छन् ।
आचारसंहिताले धोती पायो
आर्थिक रुपमा हेवीवेट उम्मेदवारहरूले आचारसंहिताको उल्लंघनमा कुनै कसर बाँकी राखेका छैनन् । नगरभरि मुख्य बजार बाहेकका गल्ली र आम नागरिकको घरको भित्तामा पोस्टरहरू टाँसिएका छन् । तुलहरु लगाइएका छन् । राती अबेरसम्म ठूलो स्वरमा लाउडस्पीकरमा जिंगलहरु बजिरहेका छन् ।
आचारसंहितामा प्रशासनको मौनतालाई अर्थपूर्ण मानिएको छ । लामो फेहरिस्त बनाइए पनि गम्भीरता पटक्कै देखिइएको छैन ।पैसावालाहरू यसैको फाइदा उठाइरहेका छन् । यस्तो माहौलमा मतदाताको रुझान बुझ्न सकिएको छैन ।
यता, तमलोपाका धनुषा जिल्ला अध्यक्ष धीरेन्द्र सिंहले अहिलेसम्म आफ्नो पार्टी तथा उम्मेदवारको प्रचार जनताको सहयोगमा भइरहेको बताए । उनले आफूहरुसँग जनताको समर्थन रहेको दावी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


