काठमाडौं, २३ बैशाख । एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपाल जिम्बाब्वे ‘ए’ सँग पराजित भएको छ ।

नेपाल शुक्रबार सम्पन्न खेलमा तीन विकेटले पराजित भएको हो । १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो ।

जिम्बाब्वेका लागि इनोसेन्ट केइयाले अविजित ४८ रनको योगदान दिए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । ब्राड इभन्स १७ रनमा अविजित रहे ।

केफस जुवाओले ३२ र रोय केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल कामी र सागर ढकालले एक–एक विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए । ७० बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

करण केसीले २५, कुशल भुर्तेलले १९ र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बाब्वेका लागि ब्राड इभन्सले चार तथा, भिक्टर न्याउची, ब्रेन्डन माभुता र केफस जुवाओले दुई–दुई विकेट हात पारे ।

यो जितसँगै जिम्बाब्वेले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।