एजेन्सी, २३ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार रातिको खेलमा दिल्ली क्यापिट्ल्सका ओपनर डेविड वार्नर आफ्नो पुरानो टिम सनराइजर्स हैदराबाद विरुद्ध अविजित ९२ रनको पारी खेले ।

५८ बलको सामना गरेका अस्ट्रेलियन ब्याटर वार्नरले १२ चौका र तीन छक्का प्रहार गरे । रोभम्यान पावेलले ३५ बलमा ६ छक्का र तीन चौकाहित अविजित ६७ रन बनाए ।

यी दुई चम्किएपछि दिल्लीले निरर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उक्त खेल दिल्लीले २१ रनले आफ्नो पक्षमा पा¥यो ।

उक्त खेलमा शतकबाट मात्र आठ रनले चुकेका वार्नरले एक महत्वपूर्ण उपलब्धि भने हासिल गरे । हैदारबादविरुद्ध ९२ रनको पारी खेलेसँगै उनी टी–२० मा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

वार्नरले वेस्ट इण्डिजका क्रिस गेललाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । उनले टी–२० मा ८९ अर्धशतक बनाएका छन् । दोस्रो स्थानका गेलको नाममा ८८ अर्धशतक छ । यो सूचीको तेस्रो स्थानमा ७६ अर्धशतकका साथ भारतका विराट कोहली छन् ।