एजेन्सी, २२ बैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) १३ रनले विजयी भएको छ ।

यो जितसँगै आरसिबीले प्लेअफ दौड सम्भावनालाई केही बलियो बनाएको छ । उसले ११ खेलमध्ये ६ मा जित र पाँच खेलमा हार बेहोरेको छ ।

यता गत विजेता चेन्नईको भने प्लेअफ यात्रा लगभग सकिएको छ । उसले १० म्याच खेल्दा ६ मा हार र तीन खेलमा मात्र जित हात पारेको छ । गएराति भएको आफ्नो दशौं खेलमा बैंग्लोरले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभन कन्वेले ३७ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ५६ रन बनाए । मोइन अली ३४, ऋतुराज गायकवाड २८, ड्वेन प्रिटोरियस १३ र अम्बाती रायडु १० रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बैंग्लोरका लागि हर्षल पटेलले तीन, ग्लेन म्याक्सवेलले दुई, वानिन्दु हसरंगा, जोस हेजलउड र शाहबाज अहमदले एक/एक विकेट लिए ।त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो ।

उसका लागि महिलपाल लोमरले ४२, कप्तान फाफ डुप्लेसिसले ३८, विराट कोहलीले ३०, दिनेश कार्तिकले अविजित २६ र रजित पाटिदारले २१ रन बनाए ।

चेन्नईका लागि महेश थिक्क्षणाले तीन, मोइन अलीले दुई र ड्वेन प्रिटोरियसले एक विकेट लिए । यो जितसँगै बैंग्लोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई भने ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।