एजेन्सी, २२ बैशाख । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली रियललले गए राति सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ तथा समग्रमा ६–५ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

सान्टियागो बर्नाबेउमा निकै रोमाञ्चक बनेको खेलको ७३औँ मिनेटमा रियाद महारेजले पाहुना टोलीलाई सुरूवात अग्रता दिलाएका थिए । फाइनल नजिक पुगिसकेको सिटीले खेलको अन्त्यतिर सम्हालिन नसक्दा अप्रत्याशीत हार बेहोर्नुपर्यो ।

खेलको ९०औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । थप गरिएको समयमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोली २–१ ले अघि बढ्यो ।

थप गरिएकै समयमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई ३–१ को जित दिलाए । म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको पहिलो लेग रियलले ४–३ ले गुमाएको थियो ।

रियलले उपाधिका लागि २८ मेमा अर्को इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुल स्पेनिस क्लब भिल्लारियलाई समग्रमा ५–२ले हराउँदै फाइनल पुगेको हो ।