जनकपुरधाम, २२ बैशाख । नेपाली कांग्रेसले देशका प्रमुख १० शहरमा बुधबारदेखि नै चुनावी सभा आयोजना गर्न सुरु गरेको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा सभा आयोजना गरिएको थियो ।

त्यस्तै, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा बुटवलमा, २४ वैशाखमै तनहुँको दमौली र जनकपुरधाममा, २५ वैशाखमा पोखरा र तुलसीपुरमा, २६ वैशाखमा धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।

चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तर, सो चुनावी सभाको वक्तामा भने पार्टीका पूर्व सभापति विमलेन्द्र निधिको नाम कत्तै समावेश गरिएको छैन् । निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाएका हुन् ।

शीर्ष तहका नेताहरु चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेपनि सूचीमा निधिको नाम कहीं पनि उल्लेख छैन । २४ गते नेता निधिको गृहजिल्ला धनुषाको जनकपुरधाममा हुने सभामा समेत उनको नाम समावेश गरिएको छैन ।

नेता निधिले जनकपुरधाममा हुने चुनावी सभा आफूले बहिष्कार गर्ने बताएका छन् । निधिले ‘लगायतका अन्य वक्ताहरु’ भन्ने शब्दावलीमा असन्तुष्टि जनाएका हुन् ।

नेताहरुकै गृह जिल्लामा समेत नाम उल्लेख नगरेकोमा आफूहरुको आपत्ति रहेको नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले बताए । चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरुको सूची बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफल समेत नगरेको झाले दाबी गरे ।