एजेन्सी, २१ बैशाख । श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति ५ करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन् ।

श्रीलङ्काको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ ।

अर्थमन्त्रीका अनुसार करको दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताएको बताइएको छ । श्रीलङ्काले चाँडै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेटेर श्रीलङ्काको मुद्रालाई थप अबमुल्यन हुनबाट जोगाउने उपायहरू खोज्नुपर्ने उनले बताए ।

वित्त मन्त्रीले संसदलाई भविष्यमा आयकर दर बढाउनुपर्ने भन्दै आफ्नो राय संसदमा राखेका थिए । उनले रोजगार व्यक्तिहरूलाई आफ्नो कमाइको केही अंश राज्यका लागि योगदान गर्न पनि आग्रह गरे ।

उक्त अवसरमा वित्त मन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वार्ताको प्रगति प्रतिवेदन संसदका सबै सदस्यहरूलाई वितरण गरिएको भन्दै सबैले आफ्नो स्थानबाट राज्यको सङ्कट टार्नका लागि योगदान गर्नुपर्ने अवस्था रहेको बताएको कोलम्बो पेजले उल्लेख गरेको छ ।

यसैबीच, पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीका कारण परेको प्रभावले श्रीलङ्काको अर्थतन्त्र खस्किएको उनले जिकिर गरे । श्रीलङ्काले कम्तीमा पनि १० घण्टाको दैनिक विद्युत् कटौती गरिरहेको छ। यहाँको मुद्रा मार्च ८ पछि अमेरिकी डलर विरुद्ध करिब श्रीलङ्काली ९० रूपैयाँले अवमूल्यन भएको छ ।