काठमाडौं, २१ बैशाख । जिम्बाब्वे ‘ए’ विरुद्ध टी–२० सिरिज अन्तर्गत बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपालले ८ विकेटको शानदार जित निकालेको छ ।

नेपालको यो जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेलमा जिम्बाब्वे ६ विकेटले पराजित हुँदा दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

१३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि ओपनर आसिफ शेखले अविजित ८७ रनको उत्कृष्ट पारी खेले । उनले ५४ बलमा १३ चौका र एक छक्का प्रहार गरे ।

कुशल भुर्तेलले ३४ र बसिर अहमदले १० रन जोडे । पहिलो विकेटका लागि आसिफ र कुशलले ८८ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएको थिए ।

जिम्बाब्वेका लागि ब्रेन्डन माभुटा र लुक जोन्गवेले एक–एक विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

जिम्बाब्वेका लागि रोय केइयाले सर्वाधिक ४९ रनको योगदान दिए । ४१ बलको सामना गरेका उनले सात चौका प्रहार गरे ।

लुक जोन्गवले अविजित २३, टाडिवान्से मरुमनीले २७ र इनोसेन्ट केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट हात पार्दा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो ।

टि–२० पछि यी दुईले शुक्रबारबाट सुरु हुन तीन खेलको एकदिवसीय सिरिज खेल्ने छन् ।