काठमाडौं, २१ बैशाख । राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको २४औं संस्करणको तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ ।

दुईदिने प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा हुँदै छ । प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । पुरुष–महिलामा ८–८ गरी १६ खेलाडी छनोट गरिनेछ ।

पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष–महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुनेछन् ।