मेयर पदका स्वतन्त्र उम्मेदवार महतोले गरे प्रतिबद्धतापत्र सार्वजनिक

जनकपुरधाम, २० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले जनकल्याण प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
मंगलवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी महतोले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै नगरप्रमुखका स्वतन्त्र उम्मेदवार महतोले जनकपुरधाम उपमहानगरको समग्र विकासका लागि आफूले प्रतिबद्धतापत्रमा विभिन्न क्षेत्रलाई समेटेको दाबी गरे ।
महतोले जनकपुरधामको मुख्य समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन र लामखुट्टे नियन्त्रणलाई पहिलो प्राथमिकताका राखेर काम गर्ने बताउँदै निस्वार्थ भावले काम गर्ने ठाउँमा सहजै विकास गर्न सकिने पनि दाबी गरे ।
उनले आफ्नो प्रतिबद्धतापत्रमा समाज कल्याण, शिक्षा, स्वास्थ्य, पर्यटन विकास, कृषि तथा कृषकको उत्थान, गरिबी निवारण तथा रोजगारीको सिर्जना, सार्वजनिक सम्पत्तिको संरक्षण एवम् विपद व्यवस्थापन, अपाङ् तथा बालमैत्री, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, सूचना तथा सञ्चार र सुशासन, संयन्त्र एवम् प्रशासनिक सुधार जस्ता क्षेत्रहरुलाई समावेश गरिएको दाबी गरेका हुन् ।
प्रतिबद्धतापत्रमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निशुल्क दुर्घटना बिमा, जन्म, मृत्यु, विवाह दर्तालगायतको दस्तुरमा विशेष छुट, सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयमा स्तरोन्तति गर्न नगर शिक्षा नीति ल्याउने, बालश्रमिकलाई विद्यालय पढाउन उसको परिवारलाई आय आर्जनका लागि २५ हजार अनुदानका लागि विभिन्न संघसंस्थसँग समन्वय गर्ने, अति विपन्न परिवारका बालबालिकालाई उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्थ गर्ने, नगरभित्रका विभिन्न सात स्थानमा इन्टरनेट सुविधासहितको अत्याधुनिक डाटा सेन्टरपार्क स्थापना गर्ने, प्रत्येक वडामा खुल्ला पार्क उद्यानको स्थापनालगायत समावेश गरिएको छ ।
उनीसँगै पत्रकार सम्मेलनमा उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले संयोगले आफूले पनि चुनाव चिन्ह आँप छाप पाएपछि आफूहरुले गठबन्धन गरेको बताए । चौधरीले जनकपुरधामको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


