एजेन्सी, २० बैशाख । चीनको सांघाई केयर होमका एक वृद्ध बिरामीलाई मृत ठानेर त्यहाँका कर्मचारीले उनको शरीरलाई प्याक गरी अन्तिम संस्कारका लागि पठाएको घटना सार्वजनिक भएको छ ।

शवगृहका दुई कर्मचारीले वृद्धालाई अन्तिम संस्कारका लागि गाडीबाट बाहिर निकाल्ने क्रममा उनी जीवित नै भएको थाहा पाए ।कर्मचारीले ती वृद्धा जीवित नै भएको जानकारी अन्य कर्मचारीलाई दिएपछि उनलाई अस्पताल पठाइएको छ ।

घटना सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्रशासनले केयर होमका चार अधिकारीलाई जागिरबाट निकालेको छ । यो घटनाले चिनियाँ सोसल मिडियामा आक्रोशको माहौल पैदा भएको छ ।

शंघाई जिल्लाको पुटुओ शहरका अधिकारीले सोमबार अबेर राती यो घटनाको पुष्टि गरेका छन् । उनले बिरामीलाई अस्पताल लगिएको र उनको स्थिति स्थिर भएको जानकारी दिएका छन् ।

जिल्ला अधिकारीले पाँच अधिकारी तथा एक डाक्टरमाथि अनुसन्धान भइरहेको बताएका छन् ।

स्थानीय नागरिक मामिलाका ब्यूरोका उप–निर्देशक तथा केयर होमका निर्देशकसहित चार अधिकारीलाई जागिरबाट निकालिएको छ ।तियाना नामका एक डाक्टरको मेडिकल लाइसेन्स रद्द गरिएको छ ।