जनकपुरधाम, २० बैशाख । धनुषामा गाडीको ठक्करबाट एक प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुली रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल जाँदै गरेको अवस्थामा पराजुलीलाई ईलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।

सिसी क्यामेरामा ठूलो गाडी ट्रक वा मालबाहक ट्यांकरले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका–५ स्थायी घर भएका वरिष्ठ हवल्दार पराजुली तीन महिनाअघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए ।

मृतकको शव पोस्मार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले नाएको छ ।