श्रीलंकामा औषधिको मूल्य ४० प्रतिशत वृद्धि

एजेन्सी, १९ बैशाख । श्रीलंकामा औषधिको मूल्य ४० प्रतिशत वृद्धि भएको छ । बीबीसी समाचारका अनुसार चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि गरेको हो ।
एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने औषधिको मूल्य ४० प्रतिशतसम्मले बढेको हो ।
अहिले श्रीलंकाका नागरिक छोटो अवधिका लागि मात्रै औषधि लिन बाध्य छन् या उनीहरूले विदेशबाट हुने आपूर्तिमा भर पर्नुपरेको छ । औषधिको मूल्य वृद्धि गर्दै सरकारले अरू विकल्प नभएको बताएको छ ।
गम्भीर आर्थिक संकट खेपिरहेको बेला देशको ढुकुटीबाट विदेशी मुद्रा रित्तिन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
श्रीलङ्काका सञ्चारमन्त्री नालक गोदाहेवाले त्यसो गर्न सरकारको इच्छा नहुँदानहुँदै पनि गर्न बाध्य भएको बताए । उनका अनुसार श्रीलङ्काली मुद्राको अवमूल्यन भएको र धेरैजसो औषधिहरू निजी क्षेत्रले आयात गर्ने गरेकाले सरकारसँग अरू विकल्प थिएन । त्यसो नगरे औषधिको चरम अभाव हुने उनको भनाइ छ ।
स्वास्थ्य अधिकारीहरूले भने औषधि अभावका कारण बिरामीहरू सिफारिस गरिएकोभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यसअघि औषधि अभाव भएको भन्दै कयौँ अस्पतालहरूले शल्यक्रियालगायतका सेवा बन्द गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


