काठमाडौं, १९ बैशाख । टि–२० सिरिज अन्तर्गत नेपाल र जिम्बाब्वे ‘ए’ बीचको दोस्रो खेल रद्द भएको छ । वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल रद्द गरिएको हो ।

टस हारेर ब्याटिङ गरिरहेको जिम्बाब्वेले ४.३ ओभरमा दुई विकेट गुमाउँदै ४८ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो ।

बीचमा केही समय वर्षा रोकिएपछि खेललाई १८ ओभरमा झारेर खेलाउने निर्णय भए पनि पुनः पानी परेपछि खेल रद्द गरिएको हो । अम्पायर विनयकुमार झा र राम पाण्डेले खेल रद्द भएको जानकारी दिएका छन् ।

खेल रोकिनुअघि कुड्जाइ मउन्जे १३ बलमा पाँच चौका सहित २३ र रोय केइया एक बलमा एक रन बनाएर खेलिरहेका थिए । नेपालका लागि सोमपाल कामी र करण केसीले एक÷एक विकेट लिएका थिए ।

सोमपालले इनोसेन्ट केइयालाइ खाता नै खेल्न नपाई कुशल भुर्तेलबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।करणले टाडिवान्से मरूमनीलाई व्यत्तिगत २१ रनमा दिपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । तेस्रो खेल बुधबार हुनेछ ।