जनकपुरधाम, १९ बैशाख । निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि जनकपुरधामका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि धर्नामा बसेका हुन् ।

उनी जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन् । आफूले २४ घण्टा भित्र नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह समावेश गर्न दिएको समयमा पनि समावेश नगरिएकाले धर्नामा बस्नु परेको मनोजले बताए । उनले राजनीतिक षडयन्त्रपूर्वक आफ्नो चुनाव चिन्ह समावेश नगरिएको आरोप लगाए ।

उनले भने, ‘यो सामान्य त्रुटि होइन मेरो उम्मेदवारीलाई ओझेलमा पार्ने षड्यन्त्र पनि हुन सक्छ, । चुनावी प्रचार प्रसार जारी रहेको समयमा नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नहुँदा मतदातालाई सम्झाउन गाह्रो भईरहेको छ ।’

साहले आयोगको यो त्रुटिपूर्ण नमूना मतपत्र अविलम्ब नसच्याएसम्म आफू धर्ना जारी राख्ने चेतावनी दिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि जम्मा २८ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

यता जनकपुरधामको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो समस्या समाधानका लागि आफूले आयोगको सचिव, आयुक्त तथा सम्बन्धित अधिकारीहरुलाई जानकारी गराइसकेको बताए । मतपत्र चाँडै सच्याइने उनले बताए ।

प्याकुरेलले भने, ‘यो त्रुटी मनोजजीको हकमा मात्रै छैनन्, जनकपुरधामका २८ जना प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारहरु छन् । १२ जना बाहेक सबैमा यो समस्या छ ।’ उनका अनुसार आयोगले १२ वटा चुनाव चिन्ह मात्रै पठाएको थियो तर जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको संख्या बढेपछि यस्तो समस्याको सिर्जना भएको हो । १२ वटा चुनाव चिन्ह सम्म ठिकै थियो, प्याकुरेलले भने ‘पुतली देखी जेब्रासम्म जम्मा १२ वटा चिन्ह थियो, अहिले जनकपुरधामलाई प्राथमिकतामा राखेर सच्याउने काम भईरहेको छ यसभन्दा बढी म केही भन्न सक्दिन ।’