तमलोपाको घोषणा पत्र सार्वजनिक, दलीय अन्धभक्ति निरुत्साहितदेखि युवा शक्तिको विकाससम्मका मुद्दा समेटिएको दाबी

जनकपुरधाम, १८ बैशाख । तराई मधेश लोकतान्त्रिक पार्टीले आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि दुई फरक फरक चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
जनकपुरधाममा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका राष्ट्रिय अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजयकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदकी उम्मेदवार बिभा ठाकुर र उपमेयर पदका उम्मेदवार ईश्वर पण्डितले संयूक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
तमलोपाले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गर्दै सार्वजनिक गरेको सो घोषणा पत्रमा सुशासन, आधारभूत सेवा एवं सुविधा, शिक्षा, स्वास्थ्य, कृषि उद्योग एवं वाणिज्य, पर्यावरण र युवा शक्तिलाई विशेष प्राथमिकता राखेका पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले बताए ।
घोषणा पत्रमा सुशासन कायम गर्न जनताद्वारा गरिएका गुनासोको अभिलेखिकरण र २१ दिनभित्र लिखित जवाफ सहित निराकरण, स्थानीय तहमा व्याप्त रहेका दलीय अन्धभक्ति निरुत्साहित गरी निष्पक्ष कार्य सम्पादन, कर्मचारीहरुको वृत्ति विकास, कर्तव्यपरायणतालाई पुरस्कार तथा अनियमितताको तदारुकताका साथ नियन्त्रण लगायतका कुरामा जोड दिइने उल्लेख छ ।
स्थानीय जनताको आधारभूत सेवा एवं सुविधा उपलब्ध गराउन घरवारविहिन गरीब, दलित, जनजातिलाई आधारभूत आवास व्यवस्थापन, ग्रामीण बजार, बैंक, एटीएम, सहकारीको व्यवस्था, स्ट्रीट लाईटको व्यवस्था, शुद्ध पेयजलको व्यवस्था, पालिका बसोवास भित्र बाह्रै महिने सडक सञ्जाल विस्तार गरिने घोषणा पत्रमा उल्लेख छ ।
युवा शक्तिको विकासका लागि प्रत्येक वडामा खेल मैदान, ई–पुस्तकालय, इनडोर खेल सुविधा, योग ध्यान केन्द्र, रोजगारमूलक सीप प्रशिक्षणको व्यवस्था, विदेशिने प्रवृतिलाई निरुत्साहित गर्दै लघु उद्यम, स्वरोजगार र सामाजिक स्वयंसेवकको प्रवद्र्धन तथा आयमूलक वृतिलाई अनुदान, ऋण आदिको व्यवस्था र पालिका स्तरीय सीपमूलक तालिम केन्द्रको स्थापना, बेरोजगार युवहरुलाई न्यूनमत श्रम रोजगारी र आज आर्जन लगायतका व्यवस्था गरिने घोषणा पत्रमा समावेश गरिएको छ ।
घोषणा पत्र सार्वजनिक गर्दै तमलोपाका केन्द्रिय अध्यक्ष वृषेशचन्द्र लालले तमलोपाको गठन सत्ताको लागि नभई मधेश आन्दोलनको मुद्दालाई स्थापित गर्नका लागि भएको बताए ।
उनले भने, ‘मधेश आन्दोलन सहितका विभिन्न अधिकारको आन्दोलनले देशमा संघीयता ल्याएपनि कार्यप्रणालीमा मात्र परिवर्तन आएको छ । तर, व्यवस्था उही पंचायतीशैलीको कायम छ । त्यसलाई तोड्न तमलोपा स्थानीय तहको निर्वाचनमा अघि बढेको हो ।’
स्थानीय स्तरमा बढदै गएको आर्थिक अनियमितता, भ्रष्टाचार र योजना खरीद बिक्रीको बढदै गएको विकृतिलाई निरुत्साहित गर्न तमलोपा निर्वाचनमा भाग लिँदै विभिन्न स्थानमा उम्मेदवारी दिएको तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले बताए ।
पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार विभा ठाकुरले मधेश आन्दोलनको अधिकार स्थापितसँगै जनकपुरधामको पर्यटकीय रुपमा विकास तथा प्रवद्र्धन, भाषा संस्कृतिको संरक्षण, नगरको सरसफाइ तथा डम्पिङ्ग साइटको व्यवस्था, शिक्षा, स्वास्थ्य, हरेक निकायमा महिलाको पहुँच, युवा शक्तिको विकास एवं विदेशिने युवाहरुलाई स्थानीयस्तरमै रोजगार तथा सहुलियत ऋणको व्यवस्था लगायतका उद्देश्य सहित आफूले मेयर पदमा उम्मेदवारी दिएको बताइन् ।
उनले भनिन्, ‘गत निर्वाचनमा मधेश आन्दोलनकै जगमा उपहानगरको प्रमुखमा हाम्रै बीचका आन्दोलनकारी चुनिए तर ती प्रमुखले व्यवस्था परिवर्तन गर्नुको सट्टा आफ्नै अवस्था परिवर्तन गरी तानाशाह भ्रष्टाचारी भए ।’
जनकपुरधाम उपमहानगरको अवस्थामा सुधार ल्याउन आफूले मेयरमा उम्मेदवारी दिएको बिभाले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


