टी–२० सिरिजको पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’सँग पराजित

काठमाडौं, १८ बैशाख । टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल जिम्बावे ‘ए’सँग पराजित भएको छ ।
नेपाल आज सम्पन्न खेलमा ६ विकेटले पराजित हुन पुगेको हो । १८२ रनको लक्ष्य जिम्बाब्वे ’ए’ ले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्याे ।
जिम्बाब्वेका लागि टान्डीवान्से मरूमनी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतकीय पारी खेले । मरूमनीले ४१ बलमा समान तीन चौका र छक्कासहित ५४ रन जोडे ।
२३ बलको सामना गरेका मुन्योङ्गाले सात चौकासहित ५० रन बनाए । इनोसेन्ट कायाले ४७ रन जोडे । नेपालका लागि बसिर अहमदले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।
नेपालका लागि आदिल अन्सारीले अविजित ४७ रनको योगदान दिए । २७ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे ।
कुशल भुर्तेलले ४६, रोहितकुमार पौडेलले ३६ र दिपेन्द्रसिंह ऐरीले २८ रन बनाए ।
जिम्बाब्वे ए का लागि ब्रराड इभन्स, लुक जोन्वे, ब्रेन्डन माभुटा र जोन मसराले एक/एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
सिरिजको दोस्रो खेल सोमबार हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


