भारतमा कोइलालाई देशका कुना कुना पुर्याउन यात्रुबाहक रेलसेवा अवरुद्ध

एजेन्सी, १७ बैशाख । भारतको केन्द्र सरकारले कोइलालाई देशका कुना कुना छिटो पुर्याउन यात्रुबाहक रेलसेवा नै अवरुद्ध गरेको छ ।
भारतका सरकारी अधिकारी वर्षौँ यताको ठुलो ऊर्जा सङ्कटको असर आम जीवनमा पर्न नदिन सक्रिय भएका छन् ।
भारतमा उपभोग हुने कोइलामध्ये ८० प्रतिशत कोइला उत्पादन गरिरहेको ‘कोयल इण्डिया’ले अप्रिल महिनामा कोइला उत्खनन २७.२ प्रतिशतले बढाएको केन्द्रीय कोइला मन्त्रीले बताए । कोइला उत्पादन गरेपछि तिनलाई आवश्यक ठाउँमा पुर्याउनु पनि पर्छ । यसैलाई मध्यनजर गरेर भारतीय रेल सेवाका ७५३ यात्रुवाहक रेललाई रोकेको केन्द्रीय सरकारले जानकारी दिएको छ ।
भारतको केन्द्र सरकारले राज्य सरकारलाई आगामी तीन वर्षसम्म कोइला आयात वृद्धि गर्न आह्वान गरेको छ । यसले पनि भारतको ऊर्जा सङ्कटको गम्भीरतालाई व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले लेखेको छ । भारतमा चालिस वर्ष यतिकै सबैभन्दा तीव्र गतिमा बिजुलीको माग बढिरहँदा कोइलाको भण्डारण भने नौ वर्षयताकै सबैभन्दा न्यून स्तरमा झरेको छ ।
भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७५ प्रतिशत कोइला प्रयोग गर्ने थर्मल पावर प्लान्टबाट आउँछ । बिहीबार भारतीय रेल सेवाका ४२७ अलग रेलहरूमा कोइला लोड गरेको भारतीय सरकारले जानकारी गरायो । जुन आवश्यकभन्दा कम हो । अहिले दैनिक ४५३ कोइला बोक्ने रेलको आवश्यकता रहेको विज्ञले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


