धनुषामा जनमत पार्टीको उपमेयर पदकी उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताद्वारा कुटपिट गरिएको आरोप

जनकपुरधाम, १७ बैशाख । धनुषामा जनमत पार्टीको उपमेयर पदकी उम्मेदवार र उनका पतिमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाइएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकामा जनमत पार्टीको तर्फबाट उपमेयर पदकी उम्मेदवार विनिता पाठक र उनका पति जितेन्द्र पाठकमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेका हुन् ।
आफूलगायत आफ्नी श्रीमती विनितालाई काँग्रेसका कार्यकर्ता विजय यादवले हातपात गरेको जितेन्द्रले आरोप लगाए ।
उपमेयरकी उम्मेदवार पाठकको घर क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–१० प्रस्टोकीमा पर्छ ।
‘मेरो श्रीमान प्रचारप्रसाको लागि जाँदै हुनुहुन्थ्यो । घरबाट निस्केपछि केहि पर मेरो श्रीमानमाथि कुटपिट भइरहेको जानकारी पाएँ । म जाँदा उहाँलाई विजयले कुटपिट गरिरहेका थिए । छुट्टाउन गएपछि मलाई पनि उनले कुटपिट गरे ।’ उम्मेदवार विनिताले सुनाइन् ।
उनले आफू जनमत पार्टीको उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको भन्दै कारबाहीको माग गरिन् ।
यता, जनमत पार्टीको तर्फबाट उपमेयर पदकी उम्मेदवादर र उनका पतिमाथि भएको कुटपिट घटनामा आफ्नो कार्यकर्ताको कुनै संलग्नता नभएको नेपाली काँग्रेसले स्पष्ट पारेको छ ।
सञ्चार माध्यममा सो सम्बन्धी समाचार आएपछि आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० प्रस्टोकीका वडा कमिटी उपाध्यक्ष शिवशंकर यादवले बताए ।
उनले काँग्रेस कार्यकर्ता सो कुटपिट घटनामा संलग्न नभएको दावी गरेका छन् । कुटपिटमा संलग्न भनिएका विजय यादव काँग्रेस पार्टीको कार्यकर्ता नरहेको उनले स्पष्ट पारेका हुन् ।
चुनावको समयमा काँग्रेसलाई बदनाम गर्न पीडितले यस्तो आरोप लगाएको उनको जिकिर छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


