जनकपुरधाम, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज देशभरका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

जनकपुरधाममा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका स्वतन्त्र उम्मेदवाहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका मनोज साहले ‘घण्टाघर’ चुनाव चिन्ह पाएका छन् ।

सत्ता गठबन्धनमा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेपछि कांग्रेसका नगर सभापति समेत रहेका साहले पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस्तै निर्माण व्यवसायी बलराम महतोले निर्वाचन चिन्ह ‘आँप’ छाप पाएका छन् । उनले आफुले चुनाव चिन्ह आँप रोजेको र अब निर्वाचन प्रचार प्रसारमा लाग्ने बताए ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट पाउने सम्भावना नदेखेपछी एमाले प्रवेश गरेपनि त्यहाँ समेत टिकट नपाउँदा स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह ‘लालटिन’ दिएको छ ।

जानकीरामले अब चुनाव चिन्ह पाइसकेकाले अब घरदैलो कार्यक्रमलाई तिव्रता दिने बताए ।

त्यस्तै, उपमेयर पदमा कांग्रेसका बागी उम्मेदवार निर्मल चौधरीले ‘आँप’ चुनाव चिन्ह पाएका छन् भने नेकपा एमालेका बागी उम्मेदवार उमेश चौधरीले चुनाव चिन्ह ‘कर्क’ छाप पाएका छन् ।