‘सी’ डिभिजन लिग : शुक्रबार सम्पन्न खेलमा आरसी–३२ फुटबल एकेडेमी विजयी

काठमाडौं, १६ बैशाख । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा आरसी–३२ फुटबल एकेडेमी विजयी भएको छ ।
लगातार तेस्रो जित निकाल्ने क्रममा ऊ स्वयम्भू क्लबविरुद्ध ३–२ ले विजयी भएको हो । यो जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा भएको खेलमा आरसी–३२ को जितमा किश्मत लिम्बू, रोहन कार्की र विवेक सन्तोषीले एक–एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र शाहील अधिकारीले एक–एक गोल फर्काए ।
सुरुवाती अग्रता जोगाउन नसक्दा स्वयम्भू स्तब्ध बन्न पुग्यो । खेलको दोस्रो मिनेटमै पाल्साङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा कश्मितले आरसी–३२ लाई १–१ को बराबरीमा ल्याए । १५ औं मिनेटमा रोहनले फ्रिककमार्फत उत्कृष्ट गोल गर्दा टोली ३–१ ले अघि बढ्यो ।
२० औं मिनेटमा विवेकले आरसी–३२ लाई ३–१ को अग्रता दिलाए । ४९ औं मिनेटमा शाहिलले गोल गर्दै स्वयम्भूलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्यापत नबन्दा आरसी–३२ ले ३–२ को रोमाञ्चक जित निकाल्यो ।
जितसँगै आरसी–३२ ले तीन खेलमा नौ अंक जोड्दा पराजित स्वयम्भूको समान खेलबाट एक अंक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


