धनुषामा नगरप्रमुखका चारसहित १०९ जनाको उम्मेदवारी फिर्ता

जनकपुरधाम, १६ बैशाख । धनुषामा नगरप्रमुख पदका चारजना उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्लामा मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेकोमा उपमहानगरका मेयर पदका दुई, नगरपालिकाका दुई मेयर र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जनकपुरधाममा उम्मेदवारी दिएकाहरुमध्ये मेयर पदका दुई जना सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ मेयर पदमा उम्मेदवारी दिएका बैधनाथ साह, नन्द कुमार भगत, उपमेयरका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
मिथिला नगरपालिकामा मेयर पदका २ उम्मेदवार सहित ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दिपक धितालले बताए । मेयरमा नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतो र जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै वडाध्यक्ष पदका ५ र वडा सदस्य पदका ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत धितालले जानकारी दिए ।
यस्तै धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जिवी गौतमले जानकारी दिए । लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंह र वडाध्यक्षका २ तथा सदस्यका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बटेश्वर गाउँपालिकामा एक गाउँपालिका अध्यक्षका उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए । अध्यक्ष पदका उम्मेदवार खलेन्द्र बहादुर कटुवाल र वडाध्यक्षका १ तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
धनौजी गाउँपालिकामा समेत अध्यक्षका एक उम्मेदवार सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए । अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल र दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
विदेह नगरपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिए । विदेहमा वडाध्यक्ष पदका २ र महिला सदस्यका ३ जनाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
हंसपुर नगरपालिकामा एक सदस्य र एक दलित सदस्य सहित दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैला नगरपालिकामा ६ जना वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी दिए ।
क्षीरेश्वरनाथ नगरपालिकामा वडाध्यक्ष पदका ३, सदस्य ४, दलित महिला सदस्य २ र महिला सदस्य १ गरि १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने शहिदनगर नगरपालिकामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वडाध्यक्ष पदका १, सदस्य २, दलित सदस्य २ र महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले जानकारी दिए ।
यस्तै नगराईन नगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए । नगराईनमा वडाध्यक्ष पदका ४, सदस्य ७ र महिला सदस्य पदका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मिथिला विहारी र कमला नगरपालिकामा वडाध्यक्ष पदका एक/एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा भने ३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा ३ जना, औरही गाउँपालिकामा ३ वडाध्क्ष सहित ७ जना, लक्ष्मिनियाँ गाउँपालिकामा ८ र जनकनन्दिनी गाउँपालिकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


