जनकपुरधाम : १५ जनाले लिए उम्मेदवारी फिर्ता

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका दुईसहित एक उपप्रमुख, ११ वडाध्यक्ष र १ सदस्य गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बैद्यनाथ प्रसाद साह र नन्दन कुमार भगतले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । सोही अवधिमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।
दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो ।
स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वका लागि ४१ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये १२ जनाले दलबाट उम्मेदवारी दर्ता गराएका थिए भने बाँकी सबै स्वतन्त्र उम्मेदवार हुन् ।
बैद्यनाथ र नन्दनले उम्मेदवारी फिर्ता लिएसँगै अब नगरप्रमुखका लागि ३९ जनाबिच प्रतिस्पर्धा हुनेछ ।
निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार मेयरमा २, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ गरी कूल १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
यसअघि समानुपातिकमा नाम रहेका उपमेयरका स्वतन्त्र उम्मेदवार सरोज मिश्र, वडा नम्बर १ बाट अध्यक्षका उम्मेदवार भोला साह र एक जना महिला सदस्यको उम्मेदवारी दाबी विरोध उजुरीको छानबीन पश्चात रद्द भएको थियो ।
निर्वाचन आयोगले शनिबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्दैछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


