मनोज भन्छन्, ‘पार्टीले मलाई के निष्कासन गर्छ ? म स्वयं नै पार्टी छाडिसकेको छु’

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले समयसिमा सकिँदा पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
कांग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता लिएका छैनन् ।
पार्टी सभापति शेयरबहादुर देउवाको आग्रहलाई अस्वीकार गर्दै निर्वाचन आयोगले दिएको समयसीमा सकिँदा पनि साहले मनोनयन फिर्ता लिएका छैनन् ।
नेपाली कांग्रेसले बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएपनि साहले जानीजानी आफूले मनोनयन फिर्ता नलिएको बताए ।
निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, कांग्रेस जनकपुरधामका नगरसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।
साहले गठबन्धन कुनै हालतमा नस्वीकार्ने बताउँदै आएका थिए । उनले आफूले बैशाख ९ गते नै औपचारिक रुपले पार्टी परित्याग गरिसकेकोले गठबन्धनको निर्णयले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।
उनले प्रश्न गर्दै भने, ‘पार्टीले मलाई के निष्कासन गर्छ ? म यसअघि स्वयं नै पार्टीबाट राजीनामा दिइसकेको छु । त्यसैले यसले मलाई कुनै फरक पर्दैन ।’
सत्तारुढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आज पनि निर्देशन दिएको थियो ।
शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको थियो ।
गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


