एजेन्सी, १५ बैशाख । भारतमा जारी १५ औं संस्करणको आइपिएलमा नवप्रवेशी गुजरात टाइटन्सले सातौँ जित हात पारेको छ ।

गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै गुजरातले लिगमा आठौं जित हात पारेको हो ।

आठौं खेलमा हैदराबादले दिएको १९६ रनको लक्ष्य गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि राशिद खानले अविश्वसनीय ब्याटिङ गरे । अन्तिम ओभरमा गुजरातलाई जितको लागि २२ रन आवश्यक थियो ।

यो ओभरको पहिलो बलमा राहुल तेवटियाले छक्का हिर्काए । दोस्रो बलमा एक रन जोड्दै उनले राशिदलाई स्ट्राइक दिए । तेस्रो बलमा उनले छक्का हिर्काउँदै खेल थप रोमाञ्चक बनाए । चौथो बल डट खेलेका राशिदले पाँचौं र छैटौं बलमा लगातार छक्का हिर्काउँदै खेल जिताए ।

उनले ११ बलमा चार छक्कासहित अविजित ३१ रन बनाए । त्यस्तै, तेवटियाले २१ बलमा चार चौका र दुई छक्काको सहयोगमा अविजित ४० रन जोडे । ऋद्धिमान साहले ३८ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रनको योगदान दिए । शुभमन गिल २२, डेविड मिलर १७ र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए ।

हैदराबादका लागिउर्मान मलिकले पाँच विकेट लिए । अन्य बलरले भने सफलता प्राप्त गर्न सकेनन् । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि ओपनर अभिषेक शर्मा र एडन मार्कमले उत्कृष्ट पारी खेले । अभिषेकले ४२ बलमा ६ चौका र दुई छक्कासहित ६५ रन बनाए ।

त्यस्तै, मार्कमले ४० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ५६ रनको योगदान दिए । राहुल त्रिपाठी १६ रनमा आउट भए । शशांक सिंहले अविजित २५ रन जोडे । गुजरातका लागि मोहम्मद शामीले तीन, अल्जारी जोसेफ र यस दयालले एक/एक विकेट लिए ।

जारी सिजनमा गुजरातलेआठ म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ । हैदराबादले आठ म्याच खेल्दा पाँचमा जित र तीन खेलमा हारको सामना गरेको छ ।