एजेन्सी, १४ बैशाख । भारतीय स्पिनर रविचन्द्रन आश्विनले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी–२० मा सर्वाधिक विकेट लिने भारतीय बलरको कीर्तिमान बनाएका हुन् ।

राजस्थान रोयल्सबाट आइपिएल खेलिरहेका आश्विनले लिगअन्तर्गत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) विरुद्ध तीन विकेट लिएसँगै यो कीर्तिमान आफ्नो नाममा गराए ।

उनले रजत पाटिदार, शाहबाज अहमद र सुयश प्रभुदेसाईलाई आउट गरेका थिए । योसँगै टी–२० क्रिकेटमा आश्विनको विकेट संख्या २७१ पुगेको छ । यसअघि यो कीर्तिमान पियूष चावलाको नाममा थिए । उनले २७० टी–२० विकेट हात पारेका छन् ।

तीन विकेट लिएसँगै आश्विनको आइपिएल विकेट संख्या १५२ पुगेको छ । उनी आइपिएलमा १५० विकेटको आँकडा पूरा गर्ने छैटौं भारतीय बलर पनि बनेका छन् ।

यसअघि अमित मिश्रा (१६६), पियुष चावला (१५७), युजवेन्द्र चहल (१५७), भुवनेश्वर कुमार (१५१) र हरभजन सिंह (१५०) ले यो उपलब्धि हात पारिसकेका छन् ।