एजेन्सी, १४ बैशाख । दक्षिण भारतको तमिलनाडुस्थित एक मन्दिरमा भएको धार्मिक यात्राका क्रममा करेन्ट लागेर ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा दुईजना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।

उक्त घटनालाई लिएर प्रहरीमा उजुरी गरिएको छ । रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियाले बताए । यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाइभोल्टेजको तारसँग छोइएको थियो ।

सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेन्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए ।