सार्वजनिक बिदा दिने निर्णय शिक्षण संस्थामा पनि लागू हुने

काठमाडौं, १४ बैशाख । सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो नियम शिक्षण संस्थामा पनि लागू हुने भएको छ ।
मन्त्रिपरिषद्ले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका हुन् ।
यो नियम लागू भएसँगै सातामा पाँच दिन सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले अन्य सार्वजनिक बिदा काटिने बताएका छन् ।
विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


