काठमाडौं, १३ बैशाख । पेमा डोल्मा लामा अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्षमा निर्वाचित भएकी छन् ।

उनले एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा आफ्नी एकमात्र प्रतिद्वन्द्वी विमला पौडेललाई पराजित गरेकी हुन् । कुल ४२ मतमध्ये लामाले ३६ र पौडेलले ६ मत प्राप्त गरे ।

उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली विजयी भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरे । उपाध्यक्षकी अर्की उम्मेदवार रमा भट्टराईले सात मत प्राप्त गरिन् ।

सदस्यका लागि सात जनाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरुलाई सर्वसम्मत सदस्य घोषणा गरेको थियो ।

संघको सदस्यमा वृन्दा देवान, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्र भण्डारी र बिना श्रेष्ठ सर्वसम्मत चुनिएका हुन् ।