देशभरबाट ८२ हजार २१० जनाले गराए मनोनयन दर्ता, सबभन्दा बढि मधेसमा

जनकपुरधाम, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिन देशभरबाट ८२ हजार २१० जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगको सोमबार साँझ ८ बजेसम्मको अपडेट अनुसार देशभरबाट सो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको तालिका तय गरेको थियो ।
आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार भएको मनोनयनमा नगर प्रमुखमा २ हजार २४३ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा १ हजार ४४५ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, गाउँपालिका अध्यक्षका लागि २ हजार ४९७ जनाले उम्मेदवारी दिँदा उपाध्यक्षमा १ हजार ७२६ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

त्यस्तै, वडाध्यक्षमा २० हजार १७६, महिला सदस्यमा १३ हजार ५५४ र दलित महिला सदस्यमा १२ हजार १८१ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार सदस्यका लागि देशभर २८ हजार २८८ जनाले मनोनयन दर्ता गराएका छन् ।
आयोगका अनुसार प्रदेश १ मा १४ हजार ९३४, मधेस प्रदेशमा १९ हजार १०१, बागमतीमा १३ हजार २९४, गण्डकीमा ६ हजार ५९३, लुम्बिनीमा १४ हजार ७६२, कर्णालीमा ६ हजार ६१८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


