जनकपुरधाम, १२ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज कुमार चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि जनकपुरधामका उपमेयर रहेकी मिश्रलाई पुनः उपमेयरका लागि नाम टुंगो लगाएको थियो भने मेयरका अर्का आकांक्षी जानकीराम साहले पार्टी परित्याग गरेपछि चौधरी स्वत: सर्वसम्मत सिफारिस भएका थिए ।

उम्मेदवारी दर्ताको क्रममा संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै मेयरका उम्मेदवार चौधरीले जनकपुरधामको चौतर्फी विकास गर्न आफूले उम्मेदवारी दिएको बताए ।

जनकपुरधामबासीले आफूमाथी विश्वास गरेर मत दिने उनको विश्वास छ । उनले शिक्षा, स्वास्थ्य र रोजगारी आफ्नो पहिलो प्राथमिकता रह्ने बताएका हुन् ।

त्यस्तै, उपमेयरका उम्मेदवार मिश्रले आफ्नो पहिलो कार्यकालमा बाकी रहेका अधुरा कामहरू पूरा गर्न पुनः दोस्रोपटक उम्मेदवारी दिएको बताइन् । मिश्रले पहिलो कार्यकालमा नगरप्रमुखले आफूलाई काम गर्न नदिएको आरोपसमेत लगाइन् ।