जनकपुरधाम, १२ बैशाख । करिव ५ दिन अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गरेका छन् ।

मनोनयन दर्ताको पूर्वसन्ध्यामा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा शिवशंकर साह (हिरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरेका हुन् ।

टिकट नपाएपछि जानकीराम एमाले परित्याग गरि तमलोपा वा स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

उनले भने, ‘साथीहरूसँग सल्लाह गरिरहेको छु, तमलोपा वा स्वतन्त्रबाट उम्मेदवारी दिने सोचेको छु ।’

यता, तमलोपाका अध्यक्ष बृषेशचन्द्र लालले जानकीराम अहिलेसम्म आफूहरु कहाँ नआएको र उनी आएपछि विचार गर्न सकिने बताए ।

तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित साहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै ५ दिन अघि मात्र एमालेमा प्रवेश गरेका थिए ।

साहले टिकट पाउने लोभमा एमाले प्रवेश गरेका थिए ।

तर, अन्तोगत्वा एमालेको सचिवालय बैठकले आइतबार मध्यराति आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेले शनिबार ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरेपनि जनकपुरधाम उपमहानगरको उम्मेदवार चयन गर्न सकेको थिएन । धेरै रसाकस्सी पश्चात् आइतबार मध्यराती उम्मेदवारको टुंगो लगायो ।

जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि लोसपा परित्याग गरी जानकीराम एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो । तर, अन्तोगत्वा हिराले नै बाजि मारेका छन् ।