जनकपुरधाम, ११ बैशाख । स्थानीय तह निर्वाचनको टिकटका लागि जनता समाजवादी पार्टी नेपालभित्र विवाद हुँदा कुटपिट भएको छ ।

जनता समाजवादी पार्टी नेपालले धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार छनोट गरेपछि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य गजाधर यादवसहित करिव १० जना नेता कार्यकर्ताहरू कुटिएका हुन् ।

जनकपुरधाममा धनुषाको हंसपुर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकाको उम्मेदवारलाई टिकट वितरण गर्न बैठक बसिरहेका बेला टिकट वितरणमा विवाद हुँदा रोहितासहित १० जनामाथि हातपात गरिएको हो ।

गणेशमान चारनाथ नगरपालिकाको लागि पार्टीका मधेस प्रदेश अध्यक्ष शेषनारायण यादव र गजाधार रोहिताले अर्का उम्मेदवार छनोट गरेपछि निवर्तमान मेयर रामबाबु यादव असन्तुष्ट बनेको स्रोतको भनाइ छ ।

रामबाबुले आफूले पुनः टिकट पाउनुपर्ने अडान राखेपछि बैठकहलमा असन्तुष्टिका स्वरहरू सुनिन थालेपछि अर्को उम्मेद्वार चयन गर्ने निर्णय भएपछि रामबाबुका समर्थकहरूले रोहितालगायत अन्य नेता कार्यकर्तामाथि हातपात गरेका छन् ।

कुटपिटबाट रोहितालाई गम्भीर चोटपटक लागेको छ भने अन्य व्यक्तिहरू सामान्य घाइते भएका छन् ।

यता, भौतिक पूर्वाधार तथा यातायतमन्त्रीसमेत रहेकी पार्टीकि नेतृ रेणुकुमारी यादव, शेषनारायण यादव र गजाधर रोहितालगायतका नेताहरूले आफू अनुकूल मनपरी रूपले टिकट वितरण गरेपछि बाध्य भएर विरोध गरेको रामबाबु यादवको भनाइ छ।